काठमाडौं । रुसमा विकसित कोरोनाभाइरसविरुद्धको खोप नेपालमा तेस्रो चरणको परीक्षण गर्ने प्रस्ताव राख्ने क्रममा रुसी राजदूतले नेपाललाई आफूहरूले उत्पादन गरेको खोप उत्पादनमा सहयोग गर्नसक्ने प्रस्ताव राखेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का एक अधिकारीले बताएका छन्। तर रुसले प्राविधिक सहयोग गरे पनि खोपको उत्पादन प्रक्रियाबारे जानकार अधिकारीहरू र औषधि एवम् खोप उत्पादकहरूले तत्कालै स्वदेशमै खोप उत्पादनको सम्भावना न्यून रहेको बताएका छन्।
नेपालमा पशुपक्षीका लागि प्रयोग गरिने खोप मात्र उत्पादन गर्ने गरिएको र सरकारी वा निजी स्तरबाट अहिल्यै मानवमा प्रयोग गर्ने खोप उत्पादन गर्न सक्ने क्षमतामा नेपाल नभएको बताएका छन्।
रुसले विकास गरेको खोपको नेपालमा परीक्षण गर्नेबारे नेपालस्थित रुसी राजदूतसँग गत सोमवार छलफल भएको थियो। राजदूतले नेपालमा उक्त खोप १,००० जनामा तेस्रो चरणको परीक्षण गर्न प्रस्ताव गरेका थिए। त्यस क्रममा नेपालले चाहेमा रुसले खोप उत्पादनमा पनि सहयोग गर्ने प्रस्ताव गरेको बताएका छन्। उनले रुसीहरूले उत्पादनसम्म गरिदिन सकिन्छ भनेका तर कुराकानी प्रारम्भिक चरणमा रहेको बताएका छन्।
परिषद्अन्तर्गत एथिकल रिभ्यू बोर्ड रहेको छ, उक्त बोर्डले अनुमति दिएपछि मात्र परीक्षण गर्न पाइन्छ । तर अहिलेसम्म उक्त बोर्डमा कोभिड-१९ विरुद्ध कुनै पनि खोपको परीक्षण गर्ने औपचारिक प्रस्ताव नआएको त्यसका अध्यक्ष प्रा. डा. प्रकाश घिमिरेले बताएका छन्। बीबीसी